काठमाडौं । फेसनको चमकदार दुनियाँमा प्रवेश गरेपछि धेरैले आफ्नो पुरानो पेशा छाड्ने गर्छन्। तर चीनकी २० वर्षीया लेङ मिङहुई भने यसको अपवाद बनेकी छन्। उनी एकातिर मिलान फेसन विकजस्ता अन्तर्राष्ट्रिय मञ्चमा मोडलिङ गरिरहेकी छन् भने अर्कातिर फोहोर सङ्कलन तथा व्यवस्थापनको कामलाई पनि निरन्तरता दिइरहेकी छन्।
मोडलिङमा पहिचान बनाए पनि आफ्नो पुरानो काम छाड्ने पक्षमा नरहेकी लेङ इमानदारीपूर्वक गरिने कुनै पनि काम सानो नहुने बताउँछिन्। उनका लागि फोहोर व्यवस्थापन रोजगारी र आर्थिक सुरक्षाको माध्यम हो भने मोडलिङ आफ्नो सपना पूरा गर्ने बाटो।
लेङको चर्चा सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोपछि सुरु भएको थियो। चीनको ताइझोउ सहरमा उनी आफ्ना प्रेमीको परिवारको फोहोर व्यवस्थापन व्यवसायमा काम गर्थिन्। त्यही क्रममा फोहोर छुट्याउँदै गरेको उनको भिडियो चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म डोयिनमा सार्वजनिक भएपछि उनको अग्लो कद र आकर्षक व्यक्तित्वका कारण धेरैको ध्यान तानियो।
भिडियो चर्चामा आएपछि मोडलिङ क्षेत्रका व्यक्तिहरूको समेत उनीमाथि नजर परेको थियो। साथी मोडल तथा एजेन्ट लु सियानरेनले उनलाई मोडलिङको अवसर दिए। त्यसपछि केही महिनामै लेङले चीनसँगै विदेशका विभिन्न फेसन शोमा र्याम्प वाक गर्न थालिन्।
तर उनको जीवनको यात्रा सधैँ सहज भने थिएन। साउथ चाइना मर्निङ पोस्टलाई दिएको अन्तर्वार्तामा उनले सानैमा आफ्ना आमाबुबा अलग भएको र परिवारको आर्थिक अवस्था कमजोर रहेको बताएकी छन्। आर्थिक अभावका कारण पढाइ बीचमै छाडेर उनले जीविकोपार्जनका लागि वेट्रेसको कामसमेत गरेकी थिइन्।
पछि आफ्ना वर्तमान पार्टनरसँग भेट भएपछि उनी उनको परिवारको फोहोर व्यवस्थापन व्यवसायमा जोडिइन्। त्यहाँ उनको मुख्य जिम्मेवारी विभिन्न प्रकारका फोहोर छुट्याउने र व्यवस्थापन गर्ने थियो। यही कामका क्रममा खिचिएको भिडियोले उनलाई मोडलिङको अवसरसम्म पुर्यायो।
मोडलिङमा सफलता पाएपछि पनि लेङले फोहोर व्यवस्थापनको कामलाई निरन्तरता दिइरहेकी छन्। उनका अनुसार आफ्ना पार्टनरको परिवारसँग काम गर्न आफूलाई सहज लाग्छ र यसबाट नियमित आम्दानी तथा आर्थिक सुरक्षा पनि प्राप्त हुन्छ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले फोहोर व्यवस्थापनको कामले आफ्नो दैनिक जीवन चलाउन सहयोग गर्ने र मोडलिङले आफ्नो सपना पूरा गर्ने बताएकी छन्। उनका लागि यी दुई काम एकअर्काका विरोधी नभई जीवनका फरक–फरक पक्ष हुन्।
लेङको धारणा छ—इमानदारीपूर्वक गरिने कुनै पनि कामलाई सानो ठान्नु हुँदैन। कामको सम्मान त्यसको चमक वा प्रतिष्ठाले होइन, त्यसलाई गर्ने इमानदारी र मेहनतले निर्धारण गर्ने उनको भनाइ छ।