अस्ट्रेलिया । पश्चिमी अस्ट्रेलियाको जेराल्डटन क्षेत्रमा गोली चलेपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। घटनापछि प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी खोजी अभियान सञ्चालन गरेको थियो।
पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब १२ः५० बजे जेराल्डटन सहरनजिकै गोली चलेको सूचना प्राप्त गरेको जनाएको छ। सूचना पाएलगत्तै आपत्कालीन टोली घटनास्थल पुगेको थियो। जेराल्डटन पर्थ सहरबाट करिब ३७० किलोमिटर उत्तरमा पर्छ।
घटनास्थलमा प्रहरीले ३२ वर्षीय एक पुरुषलाई गोली लागेको अवस्थामा फेला पारेको थियो। उनलाई गम्भीर चोट लागेको भए पनि अवस्था ज्यानलाई खतरा नरहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।
घटनापछि प्रहरीले स्थानीय बासिन्दाको सुरक्षालाई ध्यानमा राख्दै आसपासको क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा विशेष सुरक्षा टोलीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः३० बजे जेराल्डटनको पूर्वी क्षेत्रमा पाँच जनालाई पक्राउ गरिएको हो।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै, स्थानीय बासिन्दालाई सतर्क रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।