काठमाडौं । इरानको संसद्का सभामुख तथा अमेरिकासँगको वार्तामा इरानका मुख्य वार्ताकार मोहम्मद बगर गालिबाफले इरानका सात सर्त पूरा नभएसम्म अमेरिकासँग कुनै पनि वार्ता नहुने बताएका छन् ।
मङ्गलबार संसद्मा सम्बोधन गर्दै उनले सातवटै सर्त पूरा हुनुअघि कुनै कदम नचालिने र वार्ता पनि सुरु नहुने स्पष्ट पारेका हुन् ।
बीबीसी फारसीका अनुसार गालिबाफले भने, “हाम्रो अडान त्यही छ, जुन हामीले पहिले बताएका थियौँ । इरानका सात सर्त पूरा हुनुअघि न कुनै कदम चालिनेछ, न त कुनै वार्ता नै हुनेछ ।”
उनले इरान शत्रुका गतिविधिको जवाफ दिन तयार रहेको पनि बताए । “शत्रुले कुनै गल्ती गरेको खण्डमा हामी युद्धको भूगोल नै बदल्न पनि तयार छौँ,” उनले भने ।
इरानले अमेरिकासमक्ष सातबुँदे मागसहितको प्रस्ताव राखेको जनाएको छ । इरानका अनुसार उसका सर्त पूरा भएमा निर्धारित अवधिको अन्त्यमा ‘स्ट्रेट अफ होर्मुज’ खोलिनेछ । त्यसपछि अमेरिकासँग स्थायी सम्झौताका लागि वार्ता सुरु हुनेछ ।
इरानका सर्तहरूमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने माग प्रमुख रूपमा रहेको छ । यसअन्तर्गत लेबनानमाथि भइरहेका इजरायली आक्रमण रोक्नुपर्ने, इरानमाथिको समुद्री नाकाबन्दी अन्त्य गर्नुपर्ने र इरानविरुद्ध लगाइएका अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने माग समावेश छन् ।