काठमाडौं । दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले कलेज प्रवेश परीक्षामा भएको चिट चोरी प्रकरण र त्यसपछि सिर्जना भएको अव्यवस्थाको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।
बिहीबार सम्पन्न वार्षिक कलेज प्रवेश परीक्षा ‘सुनेउङ’ का क्रममा भएको घटनाको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउँदै उनले राजीनामा दिएका हुन्।
परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर चिट चोरी गर्ने घटना सार्वजनिक भएपछि अधिकारीहरूले परीक्षा केन्द्रहरूमा इलेक्ट्रोनिक उपकरणको प्रयोग रोक्न अन्तिम समयमा विभिन्न उपाय अपनाएका थिए।
एक साताअघि राष्ट्रिय कर लेखा परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएका एक परीक्षार्थीले चिट चोरी गरेको स्वीकार गरेका थिए। उनले चिट चोरीका लागि सानो क्यामेरा, मोबाइल फोन र एआई उपकरणको प्रयोग गरेको खुलेको थियो।
उक्त घटना सार्वजनिक भएपछि परीक्षा केन्द्रमा लुकाइएका इलेक्ट्रोनिक उपकरण पत्ता लगाउन अधिकारीहरूले हतारमा विभिन्न कदम चालेका थिए। यहाँसम्म कि देशभरका मोबाइल फोनमा आपत्कालीन अलर्टसमेत पठाइएको थियो।
दक्षिण कोरियामा ‘सुनेउङ’ परीक्षा विद्यार्थीको शैक्षिक भविष्य र करियरका दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ। यो परीक्षा पूरा गर्न नौ घण्टासम्म लाग्ने गर्दछ। यसमा लाखौँ विद्यार्थी सहभागी हुन्छन्।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार मन्त्री चोईले आइतबार आफ्नो राजीनामाबारे धारणा सार्वजनिक गर्दै पूर्वतयारीमा कमजोरी भएको आलोचनाबाट आफू पन्छिन नसक्ने बताएका थिए।
‘मन्त्रीका नाताले हामीले पूर्वतयारी गर्न सकेनौँ भन्ने आलोचनाबाट म पन्छिन सक्दिनँ,’ उनले भने।
उनले परीक्षा सम्पन्न भइसकेको अवस्थामा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक महसुस गर्दै राजीनामा दिने निर्णय गरेको पनि बताएका छन्।