इरानलाई आणविक सम्झौता पालना गर्न कतार र जर्मनीको आग्रह

इरानलाई आणविक सम्झौता पालना गर्न कतार र जर्मनीको आग्रह

काठमाडौं । कतार र जर्मनीले इरानलाई आणविक अप्रसार सन्धि (एनपीटी) तथा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँग भएको सुरक्षा सम्झौना पालना गर्न आग्रह गरेका छन्।

दुवै देशले इरानलाई आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्रै रहेको सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग पूर्ण सहयोग पुनः सुरु गर्न अपिल गरेका हुन्।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको नोभेम्बर २० र २१ मा भएको जर्मनीको आधिकारिक भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यस्तो आग्रह गरिएको हो।

संयुक्त वक्तव्यमा कतार र जर्मनीले व्यापारिक पानीजहाजमाथि इरानले गरेका आक्रमण तथा दिएका धम्कीको निन्दासमेत गरेका छन्। उनीहरूले होर्मुज जलडमरूमध्य बन्द गर्ने वा त्यहाँबाट हुने पानीजहाजको आवागमनमा अवरोध सिर्जना गर्ने कुनै पनि कदमको विरोध गरेका छन्।

त्यस्तै, दुवै देशले इरानलाई यमनमा सक्रिय हुथी विद्रोहीहरूलाई हतियार तथा अन्य किसिमका सहयोग उपलब्ध गराउन बन्द गर्न आग्रह गरेका छन्।

कतारले इरान र अमेरिकाबीचको युद्ध अन्त्य गराउन मध्यस्थताको प्रयास गरिरहेका बेला यो संयुक्त वक्तव्य सार्वजनिक भएको हो। कतारले पछिल्लो समय दुवै देशबीच वार्ताको वातावरण बनाउन कूटनीतिक पहल गर्दै आएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!