मेक्सिकोमा ड्रग माफियाको पक्राउपछि हिंसा भड्कियो, सर्वसाधारण त्रसित

मेक्सिकोमा ड्रग माफियाको पक्राउपछि हिंसा भड्कियो, सर्वसाधारण त्रसित

काठमाडौं । मेक्सिकोमा अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) को सर्वाधिक खोजी सूचीमा रहेका एक ड्रग माफियालाई पक्राउ गरेपछि हिंसा भड्किएको छ। घटनापछि सिनालोआ राज्यमा सर्वसाधारण त्रसित बनेका छन्।

सीबीएस न्युजका अनुसार मेक्सिकोको सेनाले शनिबार फाउस्तो इसिद्रो मेजा–फ्लोरेसलाई पक्राउ गरेको जानकारी दिएको हो। उनलाई ‘एल चापो इसिद्रो’ नामले पनि चिनिन्छ।

एफबीआईका अनुसार मेजा–फ्लोरेस ‘ट्रान्सनेसनल क्रिमिनल अर्गनाइजेसन’का कथित प्रमुख हुन्। उक्त गिरोहले अमेरिकामा हेरोइन, मेथाम्फेटामाइन, कोकिन, फेन्टानिल र गाँजाको तस्करी गर्दै आएको आरोप छ। मेक्सिकोमा पनि लागुऔषध उत्पादन, ओसारपसार तथा वितरणमा उक्त गिरोहको नियन्त्रण रहेको एफबीआईले जनाएको छ।

मेक्सिकोको राष्ट्रिय रक्षा सचिवालयका अनुसार शुक्रबार राति सिनालोआमा गरिएको सैन्य कारबाहीका क्रममा मेजा–फ्लोरेस पक्राउ परेका हुन्।

सचिवालयका अनुसार सेनाको विशेष टोलीले पहिले उनीहरू लुकेको स्थान पहिचान गरेको थियो। त्यसपछि सैनिकहरू गोप्य रूपमा उक्त क्षेत्रमा पुगेर घरलाई घेराबन्दी गरेका थिए।

कारबाहीका क्रममा सुरक्षा फौजमाथि गोलीबारी र विस्फोटक पदार्थबाट आक्रमण भएको मेक्सिकोको रक्षा सचिवालयले जनाएको छ। घटनामा सात आक्रमणकारी मारिएको र मेजा–फ्लोरेससहित अन्य व्यक्तिहरू पक्राउ परेको सीबीएस न्युजले उल्लेख गरेको छ।

कारबाहीको भिडियो फुटेजमा गुआसाभे क्षेत्रमा हेलिकप्टरबाट जमिनतर्फ गोली प्रहार भइरहेको देखिन्छ। अन्य भिडियोमा बेसबल रङ्गशालामा उपस्थित मानिसहरू गोली चलेको आवाज सुनेपछि भागिरहेको दृश्य देखिएको छ। घटनापछि सिनालोआका विभिन्न क्षेत्रमा हिंसा र आगजनीका घटना भएका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!