जीवाश्म इन्धन र जलवायु वित्तमा विवाद, कोप–३१ मा सहमति जुटेन

जीवाश्म इन्धन र जलवायु वित्तमा विवाद, कोप–३१ मा सहमति जुटेन

काठमाडौं । टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ मा नयाँ विश्वव्यापी जलवायु सम्झौताका विषयमा सहभागी देशहरूबीच सहमति जुट्न सकेको छैन।

बीबीसी न्युजका अनुसार निर्धारित समयभन्दा एक दिन बढी वार्ता जारी रहे पनि सम्झौतामा सहमति हुन नसकेपछि वार्ता रातभरका लागि स्थगित गरिएको छ।

युरोपेली सङ्घ (ईयू) र प्रशान्त क्षेत्रका केही टापु राष्ट्रहरू सम्झौताको नयाँ मस्यौदाप्रति असहमत छन्। मस्यौदामा विश्वको जीवाश्म इन्धनप्रतिको निर्भरता घटाउने विषय समावेश नगरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्।

जलवायु परिवर्तनका असर न्यूनीकरण तथा त्यसबाट प्रभावित समुदायलाई सहयोग गर्न आवश्यक आर्थिक सहायता पनि वार्ताको प्रमुख विवादित विषय बनेको छ।

अफ्रिकी राष्ट्रहरूको समूहले जलवायु परिवर्तनसँग जुध्न थप आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुपर्ने माग राखेको छ। तर युरोपेली सङ्घले भने उक्त मागलाई समर्थन नगर्ने स्पष्ट पारेको छ।

आइतबार बिहान स्वदेश फर्किने तयारीमा रहेका विभिन्न देशका वार्ता टोलीले आफ्ना उडान सोमबारका लागि सारेका छन्। यसले सम्झौतामा सहमति जुटाउन अझै समय लाग्न सक्ने सङ्केत गरेको छ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा कुनै पनि सम्झौता पारित गर्न सबै सहभागी राष्ट्रको सहमति आवश्यक हुन्छ। देशहरूबीच सहमति जुट्न नसके वार्ता स्थगित गर्नुपर्ने अवस्था आउन सक्छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!