काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङ्गे’ औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेसमा प्रवेश गरेसँगै पार्टीले उनलाई मनाङ जिल्लाको पार्टी संयोजक (कोअर्डिनेटर) को जिम्मेवारी दिएको छ।
कांग्रेसका शीर्ष नेताहरूको उपस्थितिमा आयोजित कार्यक्रममा गुरुङलाई पार्टीमा स्वागत गरिएको हो। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार मनाङ जिल्लामा पार्टीको संगठनलाई थप सुदृढ, सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले उनलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर गण्डकी प्रदेश सभा सदस्य बनेका गुरुङ प्रदेश सरकारमा मन्त्रीसमेत भइसकेका छन्। गण्डकी प्रदेशको राजनीतिमा उनी लामो समयदेखि सक्रिय रहँदै आएका छन्।