काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सोकनाहा गाविसस्थित वास्तविक जग्गाधनीको जग्गा कीर्ते गरी अर्काको नाममा दर्ता गराएको अभियोगमा तत्कालीन मालपोत कार्यालय प्रमुखसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन वडाध्यक्ष, वडा सचिव, फाँटका कर्मचारी तथा गलत रूपमा जग्गा आफ्नो नाममा दर्ता गराउने व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सर्लाहीको साविक सोकनाहा गाविस (बलवा सोकनाहा) वडा नम्बर २(ख) अन्तर्गत कित्ता नम्बर ६२ को ०–११–२ (० बिघा ११ कठ्ठा २ धुर) क्षेत्रफलको जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको थियो। तर, भूमाफिया र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा उक्त जग्गा हकभोग नै नभएका किशोरी धामी थारू र भोला धामी थारूको नाममा रहेको झुट्टा विवरण तयार गरिएको थियो।
कार्यालयमा रहेको स्रेस्ता विवरण सच्याएर एक व्यक्तिको नाममा रहेको जग्गा अर्काको नाममा कायम गरी फर्जी जग्गाधनी प्रमाणपुर्जा बनाएर बेचबिखन गरिएको उजुरीपछि आयोगले विस्तृत अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा कर्मचारी र भूमाफियाको आपसी मिलेमतोमा गैरकानुनी लाभ पुर्याउने तथा वास्तविक जग्गाधनीलाई प्रत्यक्ष हानिनोक्सानी पुर्याउने बदनियत देखिएको आयोगले जनाएको छ। वास्तविक तथ्य लुकाई हुँदै नभएको जग्गाधनी खडा गरी किशोरी धामी थारूको नाममा दाखिल खारेज गरिएको, गलत लिखत तयार पारिएको तथा सरकारी कागजात अनधिकृत रूपमा थपघट र हेरफेर गरिएको अनुसन्धानबाट पुष्टि भएको आयोगको भनाइ छ।
उक्त कार्यमा प्रत्यक्ष संलग्न रहेको ठहर गर्दै आयोगले मालपोत कार्यालय सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गरेको छ।
त्यसैगरी, गलत विवरणका आधारमा सिफारिस दिने कार्यमा संलग्न रहेको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १५ का तत्कालीन वडा सचिव राम गुलाम रायविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम तथा सोही वडाका तत्कालीन वडाध्यक्ष कपिलेदेव चौधरीविरुद्ध दफा ९ र दफा ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ।
गैरकानुनी रूपमा जग्गा आफ्नो नाममा पार्ने किशोरी धामी थारू र उक्त जग्गा प्राप्त गर्न सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई मुख्य कसुरदारले गरेको भ्रष्टाचारजन्य कार्यको मतियार ठहर गरिएको छ। उनीहरू दुवैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह कैद तथा जरिवाना सजाय हुनुपर्ने मागदाबी लिइएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जानकारी दिएका छन्।

