कांग्रेसको १५औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा

कांग्रेसको १५औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको नयाँ विधानअनुसार देशभर झन्डै ४४ हजार युवा विभिन्न पदमा निर्वाचित भएका छन्। कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार ३५ वर्षमुनिका ४३ हजार ९८६ युवाले पार्टीमा पदीय जिम्मेवारी पाएका हुन्।

पौडेलले नेपाली कांग्रेसको महाधिवेशनमार्फत एकैपटक यति ठूलो संख्यामा युवाले पदीय जिम्मेवारी पाएको दाबी गरेका छन्।

नयाँ विधानमा प्रत्येक वडाबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना युवा, त्यसमध्ये कम्तीमा एक महिला, क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित गर्नुपर्ने व्यवस्था गरिएको छ। देशभरका ६ हजार ७४३ वडाबाट न्यूनतम तीन जनाका दरले २० हजार २२९ जना युवा निर्वाचित हुने व्यवस्था भए पनि क्रियाशील सदस्यको संख्याका आधारमा प्रत्येक वडाबाट तीनदेखि सात जनासम्म निर्वाचित हुन सक्ने प्रावधान छ।

औसतमा प्रत्येक वडाबाट पाँच जना युवा निर्वाचित भएको आधारमा ३३ हजार ७१५ जना ३५ वर्षमुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएको जनाइएको छ।

यसैगरी, गाउँपालिकाको प्रत्येक वडाबाट एक जना र नगरपालिकाको प्रत्येक वडाबाट दुई जनाका दरले युवा वडा कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था छ। नेपालमा गाउँपालिकातर्फ ३ हजार २१५ वडा र नगरपालिकातर्फ ३ हजार ५२८ वडा रहेकाले गाउँपालिकाबाट ३ हजार २१५ तथा नगरपालिकाबाट ७ हजार ५६ जना गरी कुल १० हजार २७१ युवा वडा सदस्यमा निर्वाचित भएका छन्।

यसरी ३३ हजार ७१५ क्षेत्रीय प्रतिनिधि र १० हजार २७१ वडा सदस्य गरी कुल ४३ हजार ९८६ युवाले पार्टीमा पदीय जिम्मेवारी पाएका हुन्।

यी पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा उम्मेदवारबीच प्रतिस्पर्धा भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले बताएका छन्। उनका अनुसार अधिवेशनमा झन्डै एक लाख युवाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए।

क्षेत्रीय प्रतिनिधिमध्येबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा कम्तीमा तीन जना, त्यसमध्ये एक महिला, चयन भइसकेका छन्। यस्तै, प्रदेश निर्वाचन क्षेत्रको कार्यसमितिमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना तथा जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना निर्वाचित हुने व्यवस्था छ।

यसैगरी, प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले देशभरबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रत्येक निर्वाचन क्षेत्रबाट एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुने निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिएका छन्।

नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि रहने व्यवस्था गरिएको छ। यस्तै, सातै प्रदेशको कार्यसमितिमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य रहने व्यवस्था छ।

केन्द्रीय कार्यसमितिमा समेत पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवती गरी कुल १४ जना युवा प्रवेश गर्ने व्यवस्था गरिएको छ।

कांग्रेसको संगठनमा यति ठूलो संख्यामा युवाले पदीय जिम्मेवारी पाउनु र ठूलो संख्यामा युवाले उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्नुले पार्टीमा युवाको सहभागिता बढेको विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले बताए। उनका अनुसार कांग्रेसको संगठन संरचना अहिले युवाको सहभागिताले थप व्यापक बनेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!