काठमाडौं । नेपाली क्रिकेट टोलीले इंग्ल्यान्डको ऐतिहासिक लर्ड्स मैदानमा बंगलादेश र स्कटल्यान्डसँग खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेरिलबोन क्रिकेट क्लब (एमसीसी) सँगको सहकार्य र आगामी खेलबारे जानकारी दिएका हुन् ।
चन्दले एमसीसीले नेपाललाई लर्ड्समा टेस्ट खेल्ने राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएको भन्दै धन्यवाद दिए ।
‘तपाईंहरूले नेपालका लागि इतिहास रच्ने निर्णय गर्नुभएको छ । क्रिकेटको घर मानिने लर्ड्समा टेस्ट खेल्ने राष्ट्रसँग खेल्ने अवसर दिनुभएकोमा एमसीसीलाई धेरै धन्यवाद,’ उनले भने ।
चन्दका अनुसार गत जुलाईमा एमसीसीको भ्रमणका क्रममा भएको भेटमा नेपाललाई लर्ड्समा टेस्ट खेल्ने राष्ट्रसँग खेलाउने विषयमा छलफल भएको थियो । त्यसक्रममा एमसीसीका प्रतिनिधिले नेपाललाई बंगलादेशविरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलाउने प्रतिबद्धता जनाएका थिए ।
‘मलाई लाग्छ, उहाँहरू आफ्नो प्रतिबद्धता पूरा गर्नकै लागि यहाँ आउनुभएको हो । उहाँहरू आफ्नो योजनाअनुसार नेपाल आउनुभएको कुरा मैले हिजो मात्रै थाहा पाएँ,’ उनले भने ।
चन्दले एमसीसीको पहलप्रति नेपाली सञ्चारमाध्यममार्फत धन्यवाद व्यक्त गर्दै यसबारे विस्तृत विवरण संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जानकारी दिए ।
क्यानका सचिव पारस खड्काका अनुसार नेपालले जुन १ मा स्कटल्यान्ड र जुन ३ मा बंगलादेशसँग खेल्नेछ ।
त्यसपछि आयरल्यान्डसँग जुन ६, ९, ११ र १२ तारिखमा चार खेल खेल्ने कार्यक्रम छ । आयरल्यान्डसँग तीन टी–२० र एक ५० ओभरको खेल हुने खड्काले जानकारी दिए ।
खड्काले सन् २०१६ मा पहिलोपटक लर्ड्समा खेलेदेखि सन् २०२६ सम्म एमसीसीसँगको सम्बन्ध १० वर्ष पुगेको बताए । एमसीसीसँगको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउनु महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।
‘सन् २०१६ मा पहिलोपटक लर्ड्समा खेलेदेखि सन् २०२६ सम्म एमसीसीसँगको साझेदारी १० वर्ष पुगेको छ । गत वर्ष एमसीसी स्पिरिट अफ क्रिकेट र नेपाली क्रिकेटलाई एमसीसीले कसरी सहयोग गरिरहेको छ भन्ने विषयमा पनि छलफल भएको थियो । एमसीसी फाउन्डेसन र नेपाल क्रिकेटसँग जोडिएका सबै सहयोगका लागि हामी आभारी छौँ,’ उनले भने ।