चोटका कारण सोमपाल कामी एसिया कप राइजिङ स्टार्सबाट बाहिरिए

चोटका कारण सोमपाल कामी एसिया कप राइजिङ स्टार्सबाट बाहिरिए

काठमाडौं । कतारमा बिहीबारदेखि सुरु हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ प्रतियोगिताअघि नेपाली टोलीलाई झट्का लागेको छ । अनुभवी अलराउन्डर सोमपाल कामी चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कामी पूर्ण रूपमा फिट नभएकाले कतार भ्रमणमा सहभागी हुन नसक्ने जनाएको हो । हालै सम्पन्न ‘एसबीएल एनपीएल–३’ को अन्तिम खेलका क्रममा सोमपाल घाइते भएका थिए ।

उनको अनुपस्थितिले नेपालको तीव्र गतिका बलर र तल्लो क्रमको ब्याटिङमा असर पर्न सक्ने देखिएको छ ।

क्यानले सोमपालको स्थानमा युवा तीव्र गतिका बलर प्रतिश जिसीलाई टोलीमा समावेश गरेको छ । यसअघि ‘ट्राभलिङ रिजर्भ’ मा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा समावेश गरिएको क्यानले जनाएको छ ।

नोभेम्बर १९ देखि २९ सम्म कतारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्दैछ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!