ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति

ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

अदालतले बिहीबार सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनम सापकोटालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा सापकोटासँगको संलग्नता देखिएपछि श्रेष्ठ र भट्टलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

प्रहरीका अनुसार सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।

त्यस्तै, श्रेष्ठ र भट्टविरुद्ध भने सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!