काठमाडौं–तराई द्रुतमार्गको भौतिक प्रगति ५१ प्रतिशत, महादेवटार सुरुङको ब्रेकथ्रु

काठमाडौं–तराई द्रुतमार्गको भौतिक प्रगति ५१ प्रतिशत, महादेवटार सुरुङको ब्रेकथ्रु

बागमती । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्गको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ।

आयोजनाअन्तर्गत सबैभन्दा लामो तीन हजार ४५४ मिटरको महादेवटार सुरुङमार्गको दुवैतर्फबाट खनिएका सुरुङ जोड्ने (ब्रेकथ्रु) कार्य सम्पन्न भएको छ। ब्रेकथ्रु कार्यक्रममा आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले आयोजनाको हालसम्मको भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिनुभयो।

उहाँका अनुसार राष्ट्रिय गौरवको यस रणनीतिक महत्त्वको आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले पाएपछि निर्माण कार्यले गति लिएको छ।

विभिन्न चरणमा निर्माण प्रभावित भए पनि अहिले ललितपुरको खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी केही समस्या बाँकी रहेको उहाँले बताउनुभयो। उक्त ६.५ किलोमिटर खण्डको समस्या समाधानका लागि पहल भइरहेको र समस्या समाधान भएपछि ठेक्का व्यवस्थापन प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ।

आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेकाले आगामी दिनमा थप प्रगति हासिल हुने उहाँले बताउनुभयो।

नेपाली सेनाका अनुसार आयोजनाअन्तर्गत सात स्थानमा निर्माण भइरहेका १४ वटा सुरुङमध्ये धेद्रे, लेनडाँडा र महादेवटारका छवटा सुरुङ खन्ने काम सम्पन्न भएको छ। अन्य चार स्थानका आठवटा सुरुङ निर्माणाधीन अवस्थामा छन्।

महादेवटार सुरुङमार्गको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो।

लिङ्क सफलतापूर्वक कापि गरियो!