काठमाडौं । हिजोदेखि सम्पर्कविहीन भएका पत्रकार शालिकराम न्यौपाने जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेको खुलेको छ। प्रहरी नियन्त्रणमा रहेका उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।
पत्रकार न्यौपानेले सामाजिक सञ्जालमा ‘इन्टरटेनमेन्ट रिल्स’मार्फत गृहमन्त्री सुदन गुरुङकी आमाको भिडिओ पहिलोपटक पोस्ट गरेका थिए। उक्त भिडिओ भाइरल भएपछि त्यसलाई हटाउन विभिन्न पक्षबाट दबाब आएको उनकी पत्नी अस्मिताले बताएकी छन्।
अस्मिताका अनुसार श्रीमान् हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि उनले आज प्रहरीमा खोजतलासका लागि निवेदन दिएकी थिइन्। त्यसपछि न्यौपानेलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको भन्दै उनलाई भेट्न बोलाइएको थियो।
तर, प्रहरी कार्यालय पुगेपछि आफूलाई श्रीमान्सँग भेट्न नदिइएको अस्मिताले गुनासो गरेकी छन्।