काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६३२ जना सवारीचालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म सञ्चालन गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६१ जना चालक कारबाहीमा परेका छन् । त्यस्तै, सिसिटिभी निगरानीमार्फत ४३ जना र ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३५ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, तीव्र गतिमा सवारी चलाउने ११४ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ६ जना तथा सवारीसाधनको अवस्था ठीक नभएका २१ जना चालक कारबाहीमा परेका छन् ।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३४४ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गर्नुका साथै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिइएको छ ।