काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कुनै खेल हुने छैन । लिग चरणका खेल सम्पन्न भएपछि प्रतियोगितामा एक दिनको विश्राम राखिएको हो ।
लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा प्रवेश गरेका छन् ।
अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल भोलि हुनेछ । त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाजले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरको खेल पर्सि तथा दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजित टोलीले भने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ ।
प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ ।