उपराष्ट्रपति यादवद्वारा ललितपुरमा अस्ताउँदो सूर्यलाई अर्घ

उपराष्ट्रपति यादवद्वारा ललितपुरमा अस्ताउँदो सूर्यलाई अर्घ

ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आइतबार साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

उपराष्ट्रपति यादवले सुरुमा कुपोन्डोलमा छठ पूजा गरेका थिए । त्यसपछि उनी सानेपास्थित राम मन्दिर राजतीर्थ फुटबल खेल मैदानअगाडि बागमती नदी किनारमा आयोजित पूजामा सहभागी भएका थिए । राजतीर्थमा छठ पूजाका लागि पुगेका उपराष्ट्रपति यादवलाई छठ पूजा सेवा समाजका अध्यक्ष राकेश मेहताले स्वागत गरेका थिए ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा तथा आराधना गरिन्छ । यस अवसरमा ललितपुरका विभिन्न नदी तथा पोखरीमा व्रतालु र श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठी माताको पूजा गरेका छन् ।

बागमती, नख्खु, कुपोन्डोल, विष्णुमती तथा बोजेपोखरीलगायतका नदी र पोखरीका घाटमा श्रद्धालुहरूको उपस्थिति रहेको थियो । छठ पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पूजा सम्पन्न हुनेछ ।

छठ पर्वको दोस्रो दिन खरना विधि मनाइन्छ । यस दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्छन् । नयाँ माटोको चुलोमा सख्खरको खीर र रोटी पकाएर छठी मातालाई चढाउने परम्परा छ । पूजापछि प्रसाद परिवारका सदस्यसँगै ग्रहण गरिन्छ ।

खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुहरूले ३६ घण्टे निर्जला व्रत सुरु गर्छन् । यस अवधिमा अन्न र पानीसमेत ग्रहण नगरी उपवास बस्ने धार्मिक परम्परा छ ।

छठ पर्वका लागि तराई–मधेससहित देशका विभिन्न स्थानमा नदी, पोखरी तथा जलाशयका घाटहरू सजाइएको छ । सूर्यदेव र छठी माताको आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!