काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन र आपसी सद्भाव सुदृढ पार्न यस पर्वले प्रेरणा प्रदान गर्ने बताएका हुन् ।
उनले दीर्घायु, स्वच्छता, सात्त्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामनासहित मनाइने छठ पर्वले सूर्यदेवको आराधनामार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले विधिपूर्वक छठको व्रत सम्पन्न गर्दा मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने तथा दुःखकष्ट हटेर शुभ हुने जनविश्वास रहेको बताएका छन् ।
उनका अनुसार सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने यथार्थलाई आत्मसात् गर्दै कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म जलाशयका किनारमा बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ्य दिई पूजा आराधना गर्ने परम्पराले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक एकताको भावना अभिव्यक्त गर्छ ।
राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै छठी माताको पूजा, अर्चना तथा व्रत गर्ने परम्परा रहेको उल्लेख गरेका छन् । यस अवसरमा व्रतालुहरू नदी, खोला, पोखरी तथा तालतलैयाका किनारमा रातभर जाग्राम बसी हर्षोल्लासका साथ पर्व मनाउने गर्छन् ।
विशेषगरी तराई–मधेश क्षेत्रमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित अन्य पहाडी तथा हिमाली जिल्लामा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्दै जानु खुसीको विषय भएको उनले बताएका छन् ।
अन्त्यमा राष्ट्रपति पौडेलले नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिको अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशामा छठी माता र सूर्यदेवको कृपा रहिरहोस् भन्ने कामना गरेका छन् ।