काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा विराटनगर किंग्सले साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको हो।
विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रन बनाए। उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै शुभम रन्जानेले २४ बलमा ४ चौकासहित अविजित ३१ रनको योगदान दिए।
ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट भए भने लोकेश बमले १७ बलमा १५ रन जोडे। शेहान जयासूर्याले १ र इसुरु उडानाले ६ रन बनाए। बसिर अहमद ६ रनमा अविजित रहे।
विराटनगर ७० रनको अवस्थामा पुग्दा इमरान शेख रिटायर्ड हर्ट भएका थिए। त्यसपछि क्रिजमा आएका असलंकाले रन्जानेसँग मिलेर ७५ रनको महत्त्वपूर्ण साझेदारी गरे।
लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले समान १ विकेट लिए। किशोरले ४ ओभरमा २४ तथा अभिषेकले ३ ओभरमा १५ रन खर्चिए। ट्रम्पलम्यान भने महँगा साबित भए। उनले ४ ओभरमा ५२ रन खर्चिए।
प्लेअफको सम्भावना कायम राख्न विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ। यता लुम्बिनी भने जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएर पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ।