काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्सा जाने भएका छन् ।
पर्सा भ्रमणका क्रममा उनले वीरगञ्जस्थित घडिअर्वा पोखरीसहित विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम रहेको छ । सभामुख अर्याल छठ पूजामा समेत सहभागी हुनेछन् ।
त्यसैगरी, भ्रमणका क्रममा मकवानपुर, बारा र पर्साका सर्वसाधारण नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ ।
सभामुख अर्याल गत वर्ष पनि छठ पर्वका अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुगेका थिए । त्यसक्रममा उनले छठी मइयाको पूजा आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । साथै, स्थानीय नागरिक तथा श्रद्धालु भक्तजनसँग पर्वको खुसी साटासाट गरेका थिए ।
धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक परम्पराको प्रतीकका रूपमा लिइने छठ पर्वले समाजमा आपसी एकता र सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।