छठ पर्वको दोस्रो दिन आज खरना विधि मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना विधि मनाइँदै

काठमाडौं । सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर खरना (लोहण्डा) विधि मनाइँदैछ । छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्ने परम्परा छ ।

खरनाका दिन व्रतालुहरूले माटोको नयाँ चुलोमा सख्खरको खीर र रोटी पकाएर छठी मातालाई अर्पण गर्छन् । पूजापछि उक्त प्रसाद परिवारका सदस्यसँगै ग्रहण गर्ने चलन छ ।

खरनाको प्रसाद ग्रहण गरेसँगै व्रतालुहरूले ३६ घण्टे निर्जला व्रत सुरु गर्छन् । यस अवधिमा अन्न र पानीसमेत ग्रहण नगरी कठोर उपवास बस्ने धार्मिक परम्परा रहेको छ ।

छठ पर्वको तेस्रो दिन भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ । यसका लागि तराई–मधेससहित देशका विभिन्न स्थानमा नदी, पोखरी तथा अन्य जलाशयका घाटहरू सजाएर तयारी पूरा गरिएको छ ।

पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ व्रत विधिवत् सम्पन्न हुनेछ ।

छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरी परिवारको सुख, शान्ति र समृद्धिका साथै सन्तानको दीर्घायु तथा कल्याणको कामना गर्ने धार्मिक विश्वास रहेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!