भीमफेदी ईभी दुर्घटनाका १३ मृतकको शव परीक्षण गर्न आफन्त सहमत

भीमफेदी ईभी दुर्घटनाका १३ मृतकको शव परीक्षण गर्न आफन्त सहमत

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन्।

मधेश प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतकका आफन्तले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेपछि शव परीक्षणका लागि सहमति जुटेको हो।

छलफलका क्रममा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा र पालनपोषणको जिम्मेवारी सरकारले लिनुपर्ने माग राखिएको छ। उनीहरूले आफ्ना माग सात दिनभित्र सम्बोधन गर्नुपर्ने अडानसमेत राखेका छन्।

मृतकका आफन्तले राखेका माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्‍याएर सम्बोधनका लागि आवश्यक पहल गर्ने आश्वासन सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले दिएपछि शव परीक्षण गर्न सहमति जुटेको बताइएको छ।

सहमति जुटेसँगै १३ जनाको शव परीक्षण प्रक्रिया अघि बढाइने भएको छ। परीक्षण सम्पन्न भएपछि आफन्तले शव बुझेर अन्तिम संस्कारका लागि सर्लाही लैजाने तयारी गरेका छन्।

दुर्घटनामा १४ जनाको ज्यान गएपछि पीडित परिवारले क्षतिपूर्ति, रोजगारी तथा घाइते बालबालिकाको शिक्षा र भविष्य सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!