काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ।
जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ। त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी सूचनामा यात्रु, चालक तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्धारित समयतालिका र सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
पछिल्लो समय काठमाडौँ–बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाका कारण मानवीय क्षति हुने क्रम चिन्ताजनक रहेको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार साँघुरा सडक, भिरालो तथा घुम्तीयुक्त मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति, रातिको समयमा अँध्यारो सडकमा यात्रा तथा चालकको अत्यधिक कार्यबोझ र अनिद्रा दुर्घटनाका प्रमुख कारण हुन्।
त्यस्तै, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको सूचनामा उल्लेख छ।
प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ।
यसैगरी, काठमाडौँ जिल्लाभित्र उक्त सडक खण्डमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
