धनुषामा धानबालीमा रोगको प्रकोप, उत्पादन घट्ने चिन्ता

धनुषामा धानबालीमा रोगको प्रकोप, उत्पादन घट्ने चिन्ता

जनकपुरधाम । धानबालीमा विभिन्न रोगको संक्रमण फैलिएपछि धनुषाका किसान यस वर्ष उत्पादन घट्ने चिन्तामा परेका छन्। जिल्लामा रोपाइँ भएको धानबालीको १० प्रतिशतभन्दा बढी क्षेत्रमा रोगको प्रकोप देखिएपछि उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरिएको हो।

धनुषामा सामान्यतया करिब ४३ हजार ७०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आए पनि यस वर्ष ४० हजार ५१५ हेक्टरमा मात्र रोपाइँ भएको छ। रोपाइँ भएको क्षेत्रफलमा समेत रोगको संक्रमण देखिएपछि किसान थप चिन्तित बनेका छन्।

कृषि ज्ञान केन्द्र धनुषाका बाली विकास अधिकृत मिथिलेश साहका अनुसार यस वर्ष जिल्लामा करिब ९५ प्रतिशत रोपाइँ भएको छ। तर, धानबालीमा कीरा तथा रोगको प्रकोप बढेकाले उत्पादनमा असर पर्न सक्ने उनको भनाइ छ।

“रोगव्याधिले धेरै क्षति नगरेको भए उत्पादन राम्रै हुन सक्थ्यो, तर अहिले स्थिति चुनौतीपूर्ण बनेको छ,” उनले भने।

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख प्रदीप यादवका अनुसार जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा ‘राइस ब्लास्ट’, ‘ब्राउन लिफ स्पट’ र ‘सिथ ब्लाइट’ रोगको संक्रमण देखिएको छ। उनले किसानलाई नियमित रूपमा खेतबारीको अनुगमन गर्न र रोगका लक्षण देखिनासाथ कृषि प्राविधिकसँग परामर्श लिन आग्रह गरेका छन्।

यादवले रोगको पहिचान नगरी जथाभावी विषादी प्रयोग नगर्न पनि किसानलाई सुझाव दिएका छन्। उनका अनुसार रोग र कीराको प्रकोप देखिएको धानमध्ये नेपालमा दर्ता नभएको जातको धानसमेत रहेको छ। बढी उत्पादन दिने आशामा किसानले जथाभावी ‘सोना मन्सुली’ जातको धान लगाउँदा रोगको जोखिम बढेको उनले बताए।

कृषि ज्ञान केन्द्रले रोग नियन्त्रणका लागि ‘कारटाप हाइड्रोक्लोराइड’ नामक विषादी प्रयोग गर्न सुझाव दिएको छ। यद्यपि, रोगअनुसार विषादीको छनोट, मात्रा र प्रयोग विधि फरक हुने भएकाले कृषि प्राविधिकको सल्लाहअनुसार मात्रै प्रयोग गर्नुपर्ने केन्द्रले जनाएको छ।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथका सूचना अधिकारी रवीन्द्रप्रसाद साहका अनुसार मधेस प्रदेशका अधिकांश क्षेत्रमा ‘सोना मन्सुली’ जातको धान खेती गरिन्छ। नेपालमा दर्ता नभएका जात भारत तथा सीमावर्ती क्षेत्रबाट ल्याएर लगाउने प्रवृत्तिका कारण पनि किसानले रोगको जोखिम सामना गर्नुपरेको उनको भनाइ छ।

“हामीले नेपालमा दर्ता भएका जात मात्र लगाउन किसानलाई आग्रह गर्दै आएका छौँ, तर किसानले आफूखुसी जात छनोट गर्दा समस्यामा पर्ने गरेका छन्,” उनले भने।

साहका अनुसार धानबाली अनुसन्धान कार्यक्रमले भौगोलिक अवस्था, मौसम, हावापानी र रोगव्याधिको जोखिमको विस्तृत अध्ययन गरेर मात्रै धानका जात सिफारिस गर्ने गर्छ। सिफारिस गरिएका जातमा रोग तथा कीराको संक्रमणको जोखिम तुलनात्मक रूपमा कम हुने भएकाले किसानलाई दर्ता भएका र उपयुक्त जात लगाउन प्रोत्साहित गर्नुपर्ने उनले बताए।

धानको पातमा असामान्य दाग देखिनु, बोट ओइलाउनु र बालीको वृद्धि रोकिनु रोग संक्रमणका सम्भावित लक्षण हुन्। यस्ता लक्षण देखिएमा समयमै रोग पहिचान गरी कृषि प्राविधिकको सल्लाहअनुसार नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गरिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!