काठमाडौं । देशका विभिन्न भूभागमा पश्चिमी वायु तथा मनसुनी वायुको प्रभाव देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। यस्तै, कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका हिमाली र पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बदली भए पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
यस्तै, मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र कर्णाली प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा भने आंशिक बदली रहनेछ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ।
त्यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।