पोखरा । पोखरा भ्रमणमा आउने पर्यटक तथा यात्रुलाई होटल मिलाइदिने भन्दै अनावश्यक हैरानी दिने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
कास्की प्रहरीले आइतबार पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बस तथा अन्य सवारीसाधनबाट झर्ने यात्रु र पर्यटकलाई सस्तोमा होटल मिलाइदिने भन्दै उनीहरूले जबरजस्ती झोला तान्ने, आफूले भनेको होटलमा जान दबाब दिने तथा अनावश्यक रूपमा पछ्याएर हैरानी दिने गरेका थिए।
पोखरा आउने पर्यटक तथा पाहुनाको सुरक्षा र सहजतालाई ध्यानमा राखेर उनीहरूलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
पक्राउ परेकाहरूमाथि अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको डीएसपी पासवानले बताए।