नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० जना घाइते

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० जना घाइते

नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा शनिबार बिहान पौने ४ बजे सडकबाट नालामा खसेको हो।

बसमा चालकसहित १८ जना सवार रहेकोमा दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लालबहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन्।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमनसिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा पठाएको जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!