काठमाडौं । दुबईबाट उडान भरेको एक विमानलाई अपहरण (हाईज्याक) गरिएको अलर्ट प्राप्त भएपछि इजरायलले विमान खसाल्नेसम्मको तयारी गरेको खुलासा भएको छ। विमानमा १७४ जना यात्रु सवार थिए।
‘टाइम्स अफ इजरायल’का अनुसार, बुधबार विमान अपहरणमा परेको सूचना प्राप्त हुनेबित्तिकै इजरायलले लडाकु विमानहरू परिचालन गरेको थियो। विमानको नियन्त्रण तत्काल फिर्ता नभएमा त्यसलाई इजरायलमा ९/११ शैलीको आक्रमणका लागि प्रयोग गर्न सक्ने आशंका गरिएको थियो। यस्तो खतरा पुष्टि भएको अवस्थामा विमानलाई हावामै नष्ट गर्नुपर्ने अवस्था आउन सक्ने इजरायली पक्षको आकलन थियो।
भारतका लागि इजरायलका राजदूत रिउवेन आजारले उक्त विमानमाथि कारबाही गर्ने विषयमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले निर्णय लिनुपर्ने अवस्था आएको बताएका थिए।
तर, विमानमा रहेका भारतीय पाइलट र यात्रुहरूले आक्रमणकारी सह–पाइलटलाई नियन्त्रणमा लिन सफल भएपछि सम्भावित ठूलो दुर्घटना टरेको थियो। त्यसपछि विमानलाई सुरक्षित रूपमा साउदी अरबमा अवतरण गराइएको बताइएको छ।
इजरायलले विमान अपहरणकर्ताले यात्रुलाई बन्धक बनाएर आफ्ना माग पूरा गराउन दबाब दिन सक्ने सम्भावनालाई समेत ध्यानमा राख्दै सुरक्षा तयारी गरेको थियो। यस्तो अवस्था आएमा बन्धक उद्धार तथा वार्ताका लागि इजरायलको राष्ट्रिय आतंकवादविरोधी विशेष युनिट ‘यामाम’ लाई तयारी अवस्थामा राखिएको थियो।
त्यस्तै, विमान इजरायलको सट्टा जोर्डन वा साउदी अरबमा दुर्घटनाग्रस्त भएमा यात्रु तथा चालक दलका सदस्यको उद्धार गर्न इजरायली वायुसेनाको विशेष कमान्डो युनिट ‘शालदाग’ परिचालन गर्ने योजना बनाइएको थियो।
रिपोर्टअनुसार, सम्भावित विभिन्न परिस्थितिलाई ध्यानमा राखेर इजरायलले विमानलाई हावामै रोक्ने, बन्धक उद्धार गर्ने तथा दुर्घटनापछि यात्रु र चालक दललाई सुरक्षित निकाल्नेसम्मका विकल्पमा तयारी गरेको थियो।