साइकलयात्रीको मृत्यु गराएर फरार स्कार्पियो चालक पक्राउ

साइकलयात्रीको मृत्यु गराएर फरार स्कार्पियो चालक पक्राउ

सिरहा । सिरहाको गोलबजारमा साइकलयात्रीलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर रंगको स्कार्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका करिब ५० वर्षीय महराको गोलबजार हेल्थकेयर सिरहामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका चालक र सवारीसाधनको खोजी गर्ने क्रममा प्रहरीले अनुसन्धानबाट स्कार्पियोको पहिचान गरेको थियो । त्यसपछि मंसिर १० गते बिहान करिब १०ः५० बजे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ बाह्रबिघा निवासी करिब ४२ वर्षीय बिहारी महरा रहेका छन् । प्रहरीले उनलाई बा.प्र.०१–०२५ च ७३९६ नम्बरको स्कार्पियोसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चालक र स्कार्पियोलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 
 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!