स्वास्थ्य बीमा सुधार गरी सबै नागरिकको पहुँच सुनिश्चित गर्न मन्त्री गौतमको जोड

स्वास्थ्य बीमा सुधार गरी सबै नागरिकको पहुँच सुनिश्चित गर्न मन्त्री गौतमको जोड

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी नागरिकका गुनासा सम्बोधन गर्दै सबै नागरिकको पहुँच सुनिश्चित हुने गरी कार्यक्रम सुधार गर्नुपर्ने बताएकी छन् । उनले उपचार आवश्यक पर्दा स्वास्थ्य बीमाबाट सहजै सेवा पाइन्छ भन्ने विश्वास नागरिकमा स्थापित गर्नुपर्नेमा जोड दिएकी हुन् ।

मङ्गलबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजित बैठकमा मन्त्री गौतमले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानका लागि तत्काल सुधारका उपाय पहिचान गर्नुपर्ने बताइन् । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना र एकीकृत सामाजिक सुरक्षा प्रणालीतर्फको बाटो पहिल्याउने उद्देश्यले बैठक आयोजना गरिएको थियो ।

बैठकमा उनले घरपरिवारमा कोही बिरामी पर्दा उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन् ।

उनले भनिन्, “घरमा कोही बिरामी पर्दा परिवारको पहिलो चिन्ता उपचारको पैसा कहाँबाट जुटाउने भन्ने हुनु हुँदैन । हरेक नागरिकले ‘मसँग स्वास्थ्य बीमा छ, मलाई चाहिएको बेला उपचार पाउँछु’ भनेर ढुक्क हुन सक्नुपर्छ ।”

बीमामा योगदान गर्न नसक्ने विपन्न नागरिकको जिम्मेवारी राज्यले लिनुपर्ने पनि मन्त्री गौतमको भनाइ थियो । नागरिकका गुनासा सम्बोधन गर्दै अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहज रूपमा प्राप्त हुने व्यवस्था मिलाउनु नै सुधारको प्राथमिकता हुनुपर्ने उनले बताइन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिहरू सहभागी थिए ।

छलफलका क्रममा मन्त्री गौतमले बीमामार्फत गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारी अस्पतालको सञ्जाल मात्र पर्याप्त हुने वा निजी अस्पताललाई समेत कार्यक्रममा समेट्नुपर्ने भन्ने विषयमा प्रश्न उठाएकी थिइन् ।

त्यस्तै, हाल छुट्टाछुट्टै मन्त्रालयअन्तर्गत रहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि पनि छलफल भएको थियो ।

ती निकायलाई एकीकृत गर्न विद्यमान ऐनहरू संशोधन गरी तीनवटै निकायलाई जोड्ने वा एउटै छाता ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने गरी दुईवटा कानुनी विकल्पमाथि छलफल भएको मन्त्रालयले जनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!