सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ स्थित चुरे क्षेत्रको हिरेडाँडामा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सोमबार दिउँसो करिब १२ बजे स्थानीय रामबहादुर बलको टायलको छाना भएको काठले निर्मित दुईतले कच्ची घरमा आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
आगलागी हुँदा घरधनी बलको परिवार खेतमा काम गर्न गएको र घरमा कोही नभएको बताइएको छ । आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर, नगद तथा महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार आगलागीमा नागरिकता, विवाह दर्ता, जन्म दर्ता तथा पासपोर्टलगायतका महत्त्वपूर्ण कागजात पनि जलेर नष्ट भएका छन् ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनास्थल विकट चुरे क्षेत्रमा रहेको र घटनाबारे सोमबार साँझ इलाका प्रहरी कार्यालय कर्मैयामा जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक रोशन लामिछानेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।