सीमा विवादका बाँकी विषय टुंग्याउन नेपाल–भारतका परराष्ट्र सचिवलाई निर्देशन

सीमा विवादका बाँकी विषय टुंग्याउन नेपाल–भारतका परराष्ट्र सचिवलाई निर्देशन

काठमाडौं । नेपाल र भारतले सीमास्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन्। साथै, सीमासम्बन्धी बाँकी विषयलाई टुंगोमा पुर्‍याउन दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाहले नोभेम्बर २२ र २३ (मंसिर ६ र ७) मा गरेको भारतको राजकीय भ्रमणपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा सीमा व्यवस्थापनको विषय पनि समेटिएको छ।

विज्ञप्तिमा सीमास्तम्भको मर्मत तथा सम्भारका लागि भइरहेको संयुक्त स्थलगत कार्यको प्रगतिलाई सकारात्मक रूपमा लिइएको उल्लेख छ। साथै, सीमा सम्बन्धी बाँकी विषयमा काम अघि बढाउन दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको जनाइएको छ।

यसैगरी, नेपाल र भारतले जलस्रोत तथा ऊर्जा क्षेत्रको सहकार्यलाई पनि तीव्रता दिने सहमति गरेका छन्। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन तथा आयोजना कार्यान्वयन सुरु गर्न पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई निर्देशन दिइएको छ।

त्यस्तै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने कामलाई तीव्रता दिने सहमति भएको छ। यी आयोजनाबाट जलस्रोतको पारस्परिक लाभ लिनुका साथै बाढीको प्रभाव न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

दुई देशबीच हवाई सम्पर्क विस्तार र द्विपक्षीय आर्थिक गतिविधि बढाउने उद्देश्यले हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति पनि भएको छ। यसका लागि आवश्यक कार्यविधि अन्तिम रूप दिन प्राविधिक परामर्श गरिने विज्ञप्तिमा उल्लेख छ।

नोभेम्बर २३ मा जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपाल र भारतबीच विकास सहायता, रेल तथा सडक पूर्वाधार, पेट्रोलियम पाइपलाइन, विद्युत् व्यापार, शिक्षा, स्वास्थ्य र प्रविधिलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयसमेत समेटिएका छन्

लिङ्क सफलतापूर्वक कापि गरियो!