शरद ऋतुमा हिमाल आरोहणबाट ३३ करोडभन्दा बढी रोयल्टी सङ्कलन

शरद ऋतुमा हिमाल आरोहणबाट ३३ करोडभन्दा बढी रोयल्टी सङ्कलन

काठमाडौं । चालु शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट सरकारले ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका अनुसार कार्तिक ७ देखि मंसिर १ गतेसम्म देशभरका ४८ हिमाल आरोहणका लागि १८८ आरोहण दलका १ हजार ६३१ जनाले अनुमति लिएका छन्।

विभागले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार अनुमति लिनेमा १ हजार २५१ पुरुष र ३८० महिला छन्। यो कुल आरोही सङ्ख्याको क्रमशः ७६.७ र २३.३ प्रतिशत हो।

यस अवधिमा कुल २१ लाख ९७ हजार ३६० अमेरिकी डलर अर्थात् ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। यस ऋतुमा आरोहीको सर्वाधिक रोजाइमा मनास्लु (८ हजार १६३ मिटर) र आमादब्लम (६ हजार ८१४ मिटर) परेका छन्। कुल आरोहीमध्ये ५९.८ प्रतिशत र कुल रोयल्टीमध्ये ८८.९ प्रतिशत हिस्सा यी दुई हिमालले ओगटेका छन्।

मनास्लु आरोहणका लागि ४३ दलका ३७३ पुरुष र १२७ महिला गरी ५०० जनाले अनुमति लिएका छन्। मनास्लुबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। यो कुल रोयल्टीको ६७.६ प्रतिशत हो।

त्यसैगरी, दोस्रो लोकप्रिय गन्तव्य आमादब्लमका लागि ४० दलका ३६० पुरुष र ११६ महिला गरी ४७६ आरोहीले अनुमति लिएका छन्। आमादब्लमबाट ७ करोड १३ लाख ४७ हजार १०० रुपैयाँ अर्थात् ४ लाख ६८ हजार अमेरिकी डलर रोयल्टी सङ्कलन भएको छ।

यस अवधिमा हिमलुङ हिमाल (७ हजार १२६ मिटर) का लागि १३ दलका १३० जना, बरुणत्से (७ हजार १२९ मिटर) का लागि ६ दलका ६५ जना, थापा पिक (धम्पुस) का लागि १४ दलका ६३ जना र चुलु फार इस्टका लागि ६ दलका ५८ जनाले आरोहण अनुमति लिएका छन्।

आठ हजार मिटरभन्दा अग्ला अन्य हिमालमा पनि आरोहीको सहभागिता देखिएको छ। धौलागिरि प्रथम (८ हजार १६७ मिटर) आरोहणका लागि ६ दलका ३७ जनाले अनुमति लिँदा ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ।

त्यस्तै, विश्वको सर्वोच्च शिखर सगरमाथा (८ हजार ८४८.८६ मिटर) आरोहणका लागि एक दलका तीन पुरुष र एक महिलासहित चार जनाले अनुमति लिएका छन्। उनीहरूबाट ३० लाख ७० हजार रुपैयाँ अर्थात् २० हजार अमेरिकी डलर रोयल्टी सङ्कलन भएको छ। मकालु प्रथम (८ हजार ४६३ मिटर) आरोहणका लागि एक दलका तीन पुरुषले अनुमति लिएका छन्।

पर्यटन विभागको ६ नोभेम्बर २०२६ सम्मको देशगत विवरणअनुसार यस अवधिमा विश्वका ७७ देशका १ हजार ६१३ आरोहीले अनुमति लिएका थिए। तीमध्ये चीनका सर्वाधिक १४६ जना (१०२ पुरुष र ४४ महिला) छन्।

त्यसपछि फ्रान्सका १४३, संयुक्त राज्य अमेरिकाका १३०, रुसका १२१, संयुक्त अधिराज्य (बेलायत) का ११२ र जर्मनीका १०० आरोही छन्। नेपालका ८३ पुरुष र पाँच महिला गरी ८८ जनाले आरोहण अनुमति लिएका छन्।

यस्तै, इटालीका ६४, स्पेनका ५६, स्विट्जरल्यान्डका ५१, अस्ट्रेलियाका ४६, क्यानडाका ४५, चेक गणतन्त्रका ४४, पोल्यान्डका ४३ र भारतका ४० आरोही छन्।

अन्य हिमालतर्फ पुथा हिउँचुली र सारिबुङमा ३९–३९ जना, थोरोङ पिकमा २५ जना तथा अन्नपूर्ण चौथोमा १९ जनाले आरोहण अनुमति लिएका छन्। आरोहणका लागि देखिएको यो उत्साहले नेपालको पर्वतीय पर्यटन थप चलायमान बन्दै गएको देखिन्छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!